SHAPU News from national Newspaper- आँखाको ज्योति नै गुमाउने ‘शापु’ देखिन थाल्यो, सेतो पुतलीबाट जोगिऔं

पोखरा/बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङका ६ वर्षीय एक बालकले घरमा सेतो पुतली देखे । उनले त्यसलाई घर सफा गर्ने कुचो (झाडु) ले मारे । एकै छिनमा उनको आँखा रातो भयो । रातीमा खासै वास्ता भएन् । बिहान उठ्दा उनको आँखाले देखेन । अभिभावकले तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल ल्याए । अस्पतालमा उनको आँखाको शल्यक्रिया गरियो । अहिले अस्पतालमै उपचाररत छन् ।

यसैगरी लमजुङको मस्र्याङदी गाउँपालिका–५ का ७ वर्षीय अर्का बालकको पनि एउटा आँखा रातो भएपछि हिमालय आँखा अस्पताल ल्याएर शल्यक्रिया गरिएको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवैजनालाई ‘शापु’ भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार समयमै उपचारका लागि ल्याएकाले आँखामा सुधार भएको छ ।

वर्षायाम सकिनै लाग्दा सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा रहेको ‘शापु’ को संक्रमण सुरु भएको छ । शापुको मुख्य कारण सेतो पुतलीलाई मानिएको छ । २०३२ मा (सन् १९७५) पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको हो । आँखारोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले नेपालमा पहिलोपल्ट यो रोग पत्ता लगाएका हुन् । उनैले यसलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–शापु) नाम दिएका थिए । पोखराबाट उत्पत्ति भएको यो रोग यस क्षेत्रमा प्रकोपको रुपमा देखा पर्दै आएकोमा अहिले देशभरका २९ जिल्लामा फैलिईसकेको उपाध्यायले बताए । ‘सोलुखुम्बुको नाम्चेमा पनि यो देखिएको छ’, उपाध्यायले टेलिफोनमा भने, ‘कुनैबेला पोखरा र आसपासका क्षेत्रमा मात्रै देखिएको शापु अहिले धेरै जिल्ला पुगेको छ । दाङको भालुबाङमा पनि पीडित हुन पुगेका छन् ।’ उनका अनुसार यस वर्ष पनि शापुका विरामी देखिन थालेका छन् ।

हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङका अनुसार सन् १९७५ मा देखिएपछि यो रोग हरेक अंग्रेजी विजोर वर्षमा देखिने गरेको छ । यो बालबालिकामा बढी देखिएको छ । वर्षायामको अन्त्य हुनसाथ शापु देखिने गरेको छ । यो रोग लाग्दा एक्कासी आँखा रातो हुन्छ । चिप्रा नलागे पनि उज्यालोमा हेर्न सकिन्न । आँखा धमिलो भएर दृष्टिमा पनि तत्कालै कमी आउँछ । आँखा बेस्सरी दुख्छ । नानी सेतो हुन्छ । पिप जम्न थाल्छ । ‘यसको उपचार भनेकै जतिसक्दो छिटो आँखा अस्पताल पुगेर उपचार गराउनु हो’, मेडिकल डाइरेक्टर गुरुङ भन्छिन, ‘आँखा रातो हुँदा आफुखुशी जथाभावी रुपमा उपचार नगरी सोझै अस्पताल आउनु पर्छ । ४८ देखि ७२ घण्टाभित्र उपचार भए निको हुन सक्ने नत्र दृष्टि नै गुम्न सक्छ ।’ आँखा रातो हुनसाथ तुरुन्तै हिमालय आँखा अस्पतालमा आउन आग्रह गर्दै उनले अस्पताल चौबिसै घन्टा खुला रहने र शापुको उपचार निशुल्क रहेको बताइन् ।

विश्वा स्वास्थ्य संगठनको सहयोगमा सन् २०१७ मा तिलगंगा आँखा प्रतिष्ठान, बीपी नेत्र प्रतिष्ठान, शिक्षण अस्पतालको आँखा विभाग, पोखराको हिमालय आँखा अस्पतालले शापुमाथि अध्ययन गर्दा सेतो पुतलीकै कारण हुने गरेको पत्ता लागेको थियो । बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जकी सहायक प्राध्यापक डा.रञ्जु खरेलका अनुसार विशेष गरी ‘ग्याजेलिन ट्राइसोलोफा’ प्रजातिको सेतो पोथी पुतलीको रौं नै शापुको मुख्य कारण रहेको छ । उक्त पुतलीको पछाडिपट्टी रहने अन्डा संरक्षणका लागि बढीमात्रामा झुस, विशाक्त जीवाणु (ब्याक्टेरिया) र विषाणु (टक्सिन) हुने र मानिसको सम्पर्कमा आएलगत्तै आँखामा असर पु¥याउने उनले बताइन् । ‘पुतली र आँखाबीचको कनेक्शन (सम्बन्ध) र प्रजातिलगायत शापुका विषयमा बृहत अनुसन्धान गरिरहेका छौ’, डा. खरेलले भनिन, ‘समुदायस्तरमा पनि शापुबारे जनचेतना फैलाउने काम भइरहेको छ ।’ कतिपय अवस्थामा सेतो पुतलीको सम्पर्कमा नरहेका व्यक्तिलाई पनि शापु देखिने गरेको छ । यो जुनसुकै उमेरकालाई हुने भए पनि अधिकांश बालबकालिकामा देखिएको छ ।

हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले यसै वर्षदेखि पुतली र मानिसको बंशाणुबीच कुनै सम्बन्ध छकी भनेर शिक्षण अस्पताल महाराजगन्जसंगको सहकार्यमा विशेष अनुसन्धान हुन थालेको बताइन् । अस्पतालकी चिकित्सक डा. हरिमाया गुरुङले राती चहकिलो उज्यालो बत्ती नबाल्न सुझाइन । सिएफएल बत्तीमा बढी पुतलीहरु आउने उनको भनाई छ । साथै साँझपख बच्चा बाहिर खेल्न नपठाउने, झ्यालढोका राम्रोसंग बन्द गर्ने, राती झुल लगाएर सुत्नुनपर्ने बताईन । ‘कसरी हुन्छ पुतलीबाट जोगिनुपर्छ, पुतलीलाई सकभर हात प्रयोग गरेर मार्नु हुदैन’ उनले भनिन, ‘उत्तीस घारीमा बढी सेतो पुतली हुने भएकाले त्यसबाट पनि जोगिनु पर्छ ।’ यसपटक गोरखामा बढीमात्रामा सेतो पुतली देखिएको डा. उपाध्यायले बताए ।

हिमालय आँखा अस्पतालले शापुको उपचार पोखरामै हुने भएकाले समयमै आउन भनेको छ । शापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियाबाट समेत गरिन्छ । झ्याल, ढोकाको पर्दा, मुख पुछ्ने गम्छा, सिरक लगायत कपडामा पुतलीका रौं टाँसिन सक्ने भएकाले ती चिज समात्ने र त्यहीं हातले आँखा नमिच्न अस्पतालले भनेको छ ।
शापु पत्ता लागेको ५० वर्षमा करीव १५ देखि २० हजार जति बिरामी भेटिए पनि आधिकारिक तथ्यांक भने कुनै निकायसंग छैन ।